मेक्सिको सिटी — फिफा विश्वकप २०२६ आज मध्यरातदेखि उत्तर अमेरिकामा औपचारिक रूपमा सुरु हुँदैछ। सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुने उद्घाटन खेलसँगै ३९ दिन लामो फुटबल महाकुम्भको सुरुआत हुनेछ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो अज्टेकामा नेपाली समय अनुसार मध्यरात १२:४५ बजे खेल सुरु हुनेछ। करिब ८० हजार दर्शकको उपस्थितिमा हुने यो खेललाई प्रतियोगिताको भव्य सुरुआतका रूपमा हेरिएको छ।

यो भिडन्त २०१० को विश्वकप उद्घाटन खेलको सम्झना पनि हो, जहाँ दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। १६ वर्षपछि फेरि यी दुई टोलीले विश्वकपको पहिलो खेलमै एक–अर्काको सामना गर्न लागेका हुन्।

फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो। यसपटक पहिलो पटक ४८ टोलीले सहभागिता जनाइरहेका छन् भने कुल १०४ खेल हुनेछन्, जुन यसअघिको कतार विश्वकपभन्दा ४० खेल बढी हो। प्रतियोगिता पहिलो पटक तीन देश—अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।

उद्घाटन समारोह खेलअघि ९० मिनेट अघि सुरु हुनेछ। समारोहमा विश्वप्रसिद्ध गायिका शाकिरासहित जे बाल्भिन र टाइला लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्।

घरेलु मैदानमा उत्रिएको मेक्सिको पछिल्ला आठ खेलमा अपराजित रहँदै आत्मविश्वास उच्च बनाएर मैदानमा उत्रिनेछ। फिफा वरीयतामा तुलनात्मक रूपमा कमजोर रहेको दक्षिण अफ्रिका भने १६ वर्षपछि विश्वकपमा फर्किएको छ र उलटफेर गर्ने लक्ष्यमा छ।

यी दुई टोलीबीच विश्वकप इतिहासमा यो पाँचौँ भेट हो। हालसम्मको तथ्यांकमा मेक्सिको दुई जितसहित अगाडि छ भने दक्षिण अफ्रिकाले एक खेल जितेको छ र एक बराबरीमा सकिएको छ।

समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, चेक रिपब्लिक र दक्षिण कोरिया रहेका छन्। नयाँ फर्म्याट अनुसार समूह चरणपछि शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थानका टोली गरी नकआउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गर्नेछन्।