काठमाडौं ।सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। उक्त विश्वकप दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुँदैछ।

छनोट प्लेअफमा प्रतिस्पर्धा गर्ने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागेको छ। नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) विश्वकप लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेका छन्। यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट भइसकेको छ भने कुवेतको सम्भावना पनि बलियो छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको सहभागिताबारे औपचारिक टुङ्गो लाग्न बाँकी छ। लिग–२ बाट प्लेअफमा आउने अर्को टोली ओमान र नामिबियामध्ये एक हुनेछ। त्यसको पनि अन्तिम निर्णय हुन बाँकी छ।

नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरिनेछ। संशोधित तालिका दुवै पक्षको सहमतिपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुनु नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसरका रूपमा हेरिएको छ। घरेलु मैदानमा विश्वकपसम्म पुग्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्न पाउने भएकाले नेपाली टोलीका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ।