काठमाडौं । नेपालमा २०८२ साल चैत १ गतेदेखि हालसम्मको एक महिनाको अवधिमा इन्धनको मूल्य क्रमशः चार पटक बढाइएको छ । चैत ११ गते पहिलो पटक मूल्य समायोजन हुँदा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि भई १७२ रुपैयाँबाट १८७ रुपैयाँ पुगेको थियो भने डिजेल तथा मट्टितेल पनि १५ रुपैयाँ बढेर १५२ रुपैयाँबाट १६७ रुपैयाँ पुगेको थियो । 
त्यसपछि चैत १९ गते पुनः मूल्य वृद्धि गरिँदा पेट्रोलमा फेरि १५ रुपैयाँ थपिएर २०२ रुपैयाँ कायम भयो र डिजेल तथा मट्टितेल पनि १५ रुपैयाँ बढेर १८२ रुपैयाँ पुग्यो । त्यसपछि चैत २७ गते तेस्रो पटक मूल्य समायोजन हुँदा पेट्रोलमा १७ रुपैयाँ वृद्धि भई २१९ रुपैयाँ कायम भयो भने डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ वृद्धि भएर २०७ रुपैयाँ पुग्यो । यसै क्रममा एलपी ग्यासको मूल्य पनि सोही दिन १०० रुपैयाँले बढेर २०१० रुपैयाँ प्रति सिलिन्डर कायम गरिएको छ । 

वैशाख २ गते फेरी मूल्य बढाइयो । नयाँ मूल्यसूची अनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु दुई सय ३७ पुगेको छ भने हवाई इनधनको मूल्य प्रतिलिटर रु दुई सय ५६ पुगेको छ । 

समग्रमा हेर्दा एक महिनाको अवधिमा पेट्रोलमा ४७ रुपैयाँ, डिजेलमा ८५ रुपैयाँ र डिजेलमा पनि ८५ रुपैया बढेको छ । खाना पकाउने ग्यासमा १०० रुपैयाँसम्म मूल्य वृद्धि भएको देखिन्छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसरी इन्धनको मूल्य लगातार बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारसँग नेपालको प्रत्यक्ष सम्बन्ध हुनु हो । नेपालले सबै पेट्रोलियम पदार्थ भारतमार्फत आयात गर्ने भएकाले नेपाल आयल निगम ले भारतीय कम्पनी इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त गर्नेबित्तिकै सोही अनुसार मूल्य समायोजन गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा भारतमा पनि मूल्य बढ्छ र त्यसको सीधा असर नेपालमा पर्छ । अर्को महत्वपूर्ण कारण भनेको अमेरिकी डलरको विनिमय दर हो। नेपालले इन्धन डलरमा किन्ने भएकाले डलर महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर भए पनि—नेपालमा लागत बढ्छ र मूल्य बढाउनुपर्ने अवस्था आउँछ ।

त्यसैगरी ढुवानी खर्च, बीमा, कर तथा भन्सार जस्ता आन्तरिक खर्चहरू पनि मूल्य वृद्धिका कारण बन्छन्। कहिलेकाहीँ सरकारले घाटा कम गर्न वा निगमको आर्थिक अवस्था सुधार गर्न पनि मूल्य समायोजन गर्नुपर्ने हुन्छ। यदि लामो समयसम्म मूल्य नबढाइएमा निगमलाई ठूलो घाटा हुन्छ, जसलाई पछि एकैपटक समायोजन गर्दा मूल्य धेरै बढेको देखिन्छ । 

यतिबेला एक महिनामा अत्याधिक मुल्य बढ्नुको कारण भने मध्यपूर्वमा जारी युद्धलाई मानिएको छ ।
मध्यपूर्व तनाव अर्थात इरान र इजरायल–अमेरिका युद्धको बाछिटा नेपालमा पनि देखिएको हो । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलियम पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको हो । नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । कुल आयातको करिब ६५ प्रतिशत हिस्सा भारतबाट हुने गर्छ । मध्यपूर्वको तनाव लम्बिएको खण्डमा भारतको बजार पनि प्रभावित हुने भएकाले नेपालमा थप असर पर्ने निश्चित छ । यो प्रभावलाई नेपाल सरकारले थेग्न वा नियन्त्रण गर्न असम्भव छ ।