काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा पेश गर्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ समितिको बैठकमा यसबारे जानकारी दिँदै सांसदहरूले दिने सुझावलाई बजेट निर्माण प्रक्रियामा समावेश गरिने बताएका हुन्। उनले बजेटलाई आवश्यकताअनुसार थप परिमार्जन गर्दै व्यावहारिक बनाइने उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बाचापत्रसँग धेरै हदसम्म मेल खाने दाबी समेत गरे। साथै, बजेटका लागि विभिन्न सांसदहरू अर्थ मन्त्रालय पुगेर माग प्रस्तुत गर्ने क्रम जारी रहेको पनि उनले जानकारी दिए।

उनका अनुसार नयाँ सरकार गठन हुनु अघि नै बजेटको सिलिङ पठाइसकिएको कारण अहिले नयाँ कार्यक्रम समेट्न ‘स्पेस’ सीमित रहेको छ।

प्रचलित कानुनी व्यवस्था अनुसार सरकारले बजेट सार्वजनिक गर्नु कम्तीमा १५ दिनअघि नै बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।