काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार ५ गते सार्वजनिक गरेको थियो  । विगतमा परीक्षा सकिएको तीन महिनापछि नतिजा सार्वजनिक हुने गरेकोमा यसपटक ४० दिनभित्रै नतिजा सार्वजनिक गरेर सरकारले गरे के हुँदैन र भन्ने सन्देश दिएको थियो । तर परीक्षाफल प्रकाशनका लागि हतार गर्दा गम्भीर त्रुटी भएको पाइएको छ । छिटो नतिजा सार्वजनिक गरेको कामलाई ठूलो उपलब्धि मानेको सरकारले विद्यार्थीले भोग्नुपरेको पीडातर्फ भने ध्यान दिन सकेको छैन । 

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफुहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् । 

कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन् । विद्यार्थीहरुले मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रूटि नभएको स्पष्ट पारिसकेको छ । परीक्षाफल सार्वजनिक भएकै दिन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिवद्धता र शैक्षिक सुधारको महत्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका थिए । विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको भन्दै मन्त्रीले ठुलो उपलब्धि गरेको सुनाइरहेका थिए । 

परीक्षाको नतिजा सार्वजनिक छिटो गरेर चाह्यो भने हुन्छ भन्ने उदाहरण पेश गरेको थियो । तर नतिजामा त्रुटी भएको भन्दै विद्यार्थीहरु सडकमै आउनुपर्ने अवस्थाले परीक्षाफल र उत्तरपुस्तिका परीक्षणमाथि  गम्भीर प्रश्न उब्जिएको छ । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए ।