काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीतमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्। ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन्।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।