काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थान (TU-IOM) अन्तर्गतका MBBS तथा BDS विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले १९ वर्षदेखि लागू रहेको पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन्। पुरानो र अव्यावहारिक परीक्षा प्रणालीका कारण विद्यार्थीको शैक्षिक प्रगति, मानसिक स्वास्थ्य र भविष्य प्रभावित भइरहेको उनीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा उनीहरूले ब्याच ड्रप (Batch Drop) प्रणाली खारेज गर्न, परीक्षामा Objective र Subjective दुवै प्रकारका प्रश्न समावेश गर्न तथा व्यावहारिक परीक्षाको स्पष्ट तालिका बनाएर पर्याप्त तयारीको समय उपलब्ध गराउन माग गरेका छन्।

त्यसैगरी, विद्यार्थीहरूले परीक्षामा दिइने Attempts को संख्या पनि बढाउनुपर्ने बताएका छन्। उनीहरूको मागअनुसार प्रथम वर्षमा ८ वटा र दोस्रो वर्षमा ६ वटा Attempts को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

विद्यार्थीहरूले शिक्षा प्रणालीलाई विद्यार्थीमैत्री, वैज्ञानिक र समयानुकूल बनाउन आवश्यक सुधार तत्काल लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मागहरू सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

विद्यार्थीका ६ बुँदे माग

  • १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गरियोस्।
  • ब्याच ड्रप (Batch Drop) प्रणाली खारेज गरियोस्।
  • परीक्षामा Objective र Subjective दुवै प्रकारका प्रश्न समावेश गरियोस्।
  • व्यावहारिक परीक्षाको तालिका बनाई पर्याप्त तयारीको समय सुनिश्चित गरियोस्।
  • Attempts को संख्या बढाइयोस् (प्रथम वर्ष–८, दोस्रो वर्ष–६)।
  • विद्यार्थीहरूको मानसिक स्वास्थ्य, समय र भविष्यको सुरक्षा सुनिश्चित गरियोस्।