काठमाडौँ । स्पेनिस ला लिगाको आइतबार राति सम्पन्न ‘एल क्लासिको’ भिडन्तमा रियल मड्रिड आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ४–३ गोलले पराजित भयो । उक्त हारसँगै जारी सिजनको ला लिगा उपाधि जित्ने रियलको सपनामा पनि ठुलै धक्का लागेको छ । यो सिजन ला लिगाको उपाधि होडमा बार्सिलोना निकै अगाडि देखिएको छ । 

तर, बार्सिलोनाविरुद्धको खेलमा प्रभावशाली फ्रान्सेलीले फरवार्ड किलियन एमबाप्पेले भने इतिहास रचेका छन् । बार्सिलोनाविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेका थिए । २६ वर्षीय एमबाप्पेले बार्सिलोनाविरुद्ध निर्धारित समयको पाँचौँ, १४औँ र ७०औँ मिनेटमा गोल गरेका थिए । उनी ‘डेब्यू’ सिजनमै रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । 

उनले यो सिजन रियल मड्रिडका लागि ३९ गोल गरिसकेका छन् । यसअघि कुनै पनि खेलाडीले स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडका लागि ‘डेब्यू’ सिजनमा यति धेरै गोल गर्न सकेको थिएन । एमबाप्पे सन् २०२४ मा फ्रान्सेली क्लब पेरस सेन्ट जर्मन (पीएसजी) बाट रियल मड्रिड पुगेका हुन् ।

यसअघि, रियल मड्रिडका लागि ‘डेब्यू’ सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान ईभान जामोरानोको नाममा थियो । उनले आफ्नो ‘डेब्यू’ सिजनमा रियल मड्रिडका लागि ३७ गोल गरेका थिए । चिलीका खेलाडी ईभान सन् १९९२ मा सेभियाबाट रियल मड्रिडमा आबद्ध भएका थिए । त्यसैले फ्रान्सको राष्ट्रिय टोलीको कप्तानसमेत रहेका एमबाप्पेले रियल मड्रिडमा आबद्ध भएकै सिजन ३२ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

उनले ५३ खेलमा ३९ गोल गरेका हुन् । ईभानले ४५ खेलमा ३७ गोल गरेका थिए । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो ‘डेब्यू’ सिजन ९सन् २००९–१०० मा रियल मड्रिडका लागि ३५ खेलमा ३३ गोल गरेका थिए ।