काठमाडौँ ।  एसीसी एसिया कपमा अफगानिस्तानविरुद्ध बंगलादेशले आठ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

मंगलबार जायद क्रिकेट रंगशालामा बंगलादेशले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ रन बनाए । आज्मतुल्लाह ओमरजाईले ३०, कप्तान राशिद खानले २०, गलबद्दिन नइमले १६, मोहम्मद नाबीले १५ र नुर अहमदले १४ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । नासुम अहमद, राशिद हुसेन र तस्किन अहमदले समान दुई विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका तान्जिद हसनले ५२ रन बनाएका थिए । उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । सैफ हसनले ३०, तोविड हृदयले २६, जाकिर अली र नुरुल हसनले अविजित १२ रन थपे । अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले समान दुई विकेट लिए । अज्मतुल्लाह ओमरजाईको नाममा एक विकेट रह्यो ।

दोस्रो जितसँगै तीन खेलमा चार अंक जोडेको बंगलादेश समूह ‘बी’को दोस्रो स्थानमा छ । पहिलो हार व्यहोरेको अफगानिस्तान दुई खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ । दुवै टोलीको सुपर–४ को सम्भावना जिवितै छ ।