
काठमाडौं । एसिया कप २०२५ को समूह ए अन्तर्गत भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानलाई हराउँदै दोस्रो जित दर्ता गरेको हो।
टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो। १२८ रनको विजय लक्ष्य पछाएको भारतले आक्रमक सुरुवात गर्दै १५.५ ओभरमा ३ विकेट गुमाउँदै १३१ रन सहित लक्ष्य पूरा गरेको हो।
भारतका लागि ओपनर ब्याटर अभिषेक शर्माले आक्रमक सुरुवात गरे। उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाएका थिए। कप्तान सूर्यकुमार यादवले पछिल्ला पाँच खेलको खराब प्रदर्शन सुधारेका छन्। उनले पाकिस्तानसँग २० रनभन्दामाथि लान नसक्ने आफ्नो पछिल्लो पाँच खेलको प्रदर्शन सुधार गर्दै ४७ रनको अविजित पारी खेले। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। तिलक वर्माले ३१ रन बनाउँदा शुभम दुवै १० रनमा अविजित रहे। पाकिस्तानका लागि शैम अयुबले ३ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर सहीबजादा फरानले सर्वाधिक ४० रन बनाए। उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे। फकर जमानले १७ रन बनाउँदा फहिम अशरफले ११ रन बनाए। साहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे।
भारतका लागि स्पिनर कुलदेव यादव निकै महत्वपूर्ण रहे। स्लो विकेटमा भएको खेलमा स्पिनरको भूमिका महत्वपूर्ण हुने बताइएको थियो र सोही अनुरुप कुलदिपले आफ्नो जादु पनि देखाए। कुलदिपले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चेर तीन विकेट लिए। जसप्रीत बुमराह र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१विकेट लिए।







Facebook Comments