
काठमाडाैं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको थियो।
हङकङका लागि ओपनर सन्जिन सहजाद १५ र यास्मिन डास्वानी ३ रनमा अविजित रहे। क्यारी चान र कप्तान नतासा माइल्स शून्य रनमा नै आउट भए। हङकङलाई अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा कविता कुवँरले पहिलो बलमा मारिको हिललाई बोल्ड आउट गराइन्। तर दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा १ रन दिएपछि नेपालले हार भोगेको हो।
त्यसअघि थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा २९ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि सम्झाना खड्का १० रन बनाउँदै क्याच आउट भइन्। कप्तान इन्दु बर्मा ९ र रुविना क्षेत्री ४ रनमा नटआउट रहे। पूजा महतो ३ रनमा क्याच आउट नै भइन्। कविता कुवँर २ रन बनाउँदा बोल्ड आउट भइन्। पहिलो खेलमा हङकङसँग अंक बाँडेको नेपालले दोस्रो खेलमा हार भोग्दा सुपर ३ मा पुग्ने यात्रा केही कठिन बनेको छ। दोस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो।
हङकङ र बहराइनबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो। समुह चरणको अन्तिम खेलमा नेपालले पर्सि बिहीबार बहराइनसँग खेल्नेछ। हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ।
नेपालले अब सुपर थ्री मा स्थान बनाउन बहराइनविरुद्ध जित निकाल्नुपर्नेछ भने अर्को खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ। छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन्। समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन्।
डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ। समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन्। सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।







Facebook Comments