काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् । आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेका हुन् ।

म्यानचेष्टर सिटीले अन्तिम खेलमा फुलहमलाई २-० ले हराएपछि तेस्रो स्थानमा लिग सकायो । सिटीले ३८ खेलबाट ४१ अंक जोड्यो ।

अर्को खेलमा चेल्सीले नटिङहम फरेस्टलाई १-० ले हरायँदै ६९ अंक जोडेर चौथो स्थानमा रह्यो । फरेस्ट भने शीर्ष पाँचमा नअटाएपछि च्याम्पियन्स लिगमा छनोट हुन सकेन । फरेस्ट ६५ अंकसहित सातौं स्थानमा रह्यो ।

यस्तै अर्को खेलमा एभरटनसँग १-० ले पराजित भएपनि अन्य नतिजापछि न्युकासल भाग्यमानी बन्दै पाँचौ स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट भएको हो । एस्टन भिल्ला र न्युकासलको समान ६६ अंक रहेपनि न्युकासल गोल अन्तरमा अघि रहेको हो ।

एस्टन भिल्ला अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडसँग २-० ले पराजित हुँदा न्युकासल भाग्यमानी बन्यो ।

यसैगरी च्याम्पियन लिभरपुलले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै लिग सकाएको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले अन्तिम खेलमा प्रिमियर लिगको ट्रफी उचाल्यो ।

दोस्रो स्थानको आर्सनलले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ ।

अन्य खेलमा ब्राइटनले टोटनहमलाई ४-१ ले, वेष्टहमले इप्स्विच टाउनलाई ३-१ ले र लेस्टर सिटीले बर्नमाउथलाई २-० ले पराजित गर्दा वल्भ्स र ब्रेन्टफोर्डले १-१ को बराबरी खेलेका छन् ।

प्रिमियर लिगबाट शीर्ष पाँच क्लबसहित युरोपा लिग उपाधि जितेको टोटनहम गरी ६ क्लबले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्नेछ ।