काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।

दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२र६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेर राजसंस्था अन्त्य गरेका थिए ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।

भएन स्वतन्त्र अनुसन्धान
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए ।त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यवाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

नारायणहिटी राजदरबार अहिले संग्रहालयको रुपमा सार्वसाधारणको लागि खुल्ला छ । नेपालमा २४० वर्ष शासन गरेको राजतन्त्र हट्दै गणतन्त्र स्थापना भएपछि राजदरबार संग्रहालय बनेको हो । नारायणहिजी राजदरबार मात्र नभएर नरसंहार भएको स्थान समेत हो । त्यसकारण पनि आम मानिसलाई उक्त स्थानबारे चासो लाग्नु स्वभाविक हो ।

तर, दरबार हत्याकाण्ड भएको १४ वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्र शाहले भत्काउन लगाएका थिए । उक्त त्रिभुवन सदनको बिलियार्ड हलभित्र तत्कालिन राजाको परिवारका सदस्यहरुको हत्या भएको थियो । उक्त विलियार्ड हलको जगबाट गाह्रो उठाएर पुन बनाइएको छ ।

हत्याकाण्डपछि रानी ऐश्वर्याको जुत्ता त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा भेटिएको थियो भने शव दीपेन्द्र निवासको भर्या‍ङमा फेला परेको थियो ।

संग्रहालय जाने धरैले राजाहरुले लगाउने श्रीपेच हेर्न लामो समयसम्म पाएका थिएनन् । तर गत वर्ष यो श्रीपेचलाई सार्वजनिक गरिएको छ । उच्च सुरक्षाका साथ श्रीपेचलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गरेका थिए ।

बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।यस श्रीपेचमा ७सय ५० वटा हिराका टुक्रा छन् भने कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिएको छ ।