
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण १० औ“ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए । उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए ।
देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि पनि सरकार गम्भीर रहेको उनले बताए । उनले खेलको वृहत्तर विकासका लागि भौतिक पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायतका कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको बताए ।







Facebook Comments