काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।