काठमाडौं । पूर्णिमा राईको ह्याट्रिक प्रेरणामा नेपाली महिला टोलीले बंगलादेशमा सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार सुरुआत गरेको छ।

ढाकास्थित वसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानमाथि ६-१ को जित निकालेको छ। नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।

तीनवटै गोलमा स्ट्राइकर वर्षा ओलीले सहयोग गरेकी थिइन्। खेलको नवौं मिनेटमा सेनुको सुन्दर गोलबाट नेपाली टोलीले अग्रता लियो। भुटानकी गोलकिपर पेमा याङ्जोम अगाडि बढेको अवस्थामा वर्षाले सेनुलाई पास दिइन्। उक्त बललाई भुटानी गोलकिपर पेमासँग एक-एकको अवस्थामा पेनाल्टी बक्सबाहिरबाट गोल गरेकी हुन्। सेनुले गरेको राइट फुटेड ओभरहेड सटले दोस्रो बारको जाली चुम्यो।

१८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन्। राइट साइडबाट वर्षाले दिएको लोफ्टेड पासलाई पूर्णिमाले भुटानी गोलकिपर पेमा बिट भएको अवस्थामा खाली पोस्टमा गोल गरेकी हुन्। पहिलो हाफको अन्तिम समयमा नेपालले काउन्टर अट्याकबाट तेस्रो गोल गरेको छ। वर्षाले भुटानका अन्तिम दुई डिफेन्डरलाई छक्याउँदै दिएको बललाई सेनुले सुन्दर गोल गरिन्।

उनले पहिलो बार च्याप्दै गरेको प्रहार भुटानी गोलकिपर पेमाले भेट्टाउन सकिनन्। यससँगै पहिलो हाफमा नेपाल ३-० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि नेपालले तीन गोल थप्यो। साथै एक गोल पनि बेहोर्यो। ५२औं मिनेटमा नेपाली डिफेन्डर सजग नहुँदा भुटानले गोल गर्ने सुन्दर अवसर बुन्यो।

भुटानको फ्रिकिक प्रहारमा नेपालकी अन्तिम डिफेन्डर गंगा रोकायले साङ्गे वाङ्मोलाई निगरानीमा राखिनन्। पेनाल्टी बक्समा अनमार्क वाङ्मोले उक्त बल नियन्त्रणमा लिँदै गरेको ओभरहेड सटलाई नेपालकी गोलकिपर सुजाता तामाङले मुस्किलले बचाइन्। तर, दुई मिनेटपछि नै नेपालका डिफेन्डरको गल्तीमा भुटानले गोल गर्यो।

भुटानको लामो क्रसलाई सिमरन राईले हेडमार्फत ब्याक पास दिइन्। पेनाल्टी बक्समा नै अनमार्क केल्डेन वाङ्मोले नियन्त्रणमा लिँदै दोस्रो बार च्यापेर जाली चुमाइन्। यससँगै भुटानले अग्रता ३-१ ले छोट्यायो। त्यसको एक मिनेटपछि नै सेनुले भुटानी गोलकिपर पेमासँग एक-एकको अवस्थामा गोल गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुकिन्।

६३औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन्। मध्य भागभन्दा परबाट नेपालका डिफेन्डरले दिएको लामो पास नियन्त्रणमा लिँदै पूर्णिमाले एकल प्रयासमा गोल गरेकी हुन्। यससँगै नेपाल ४-१ ले अगाडि बढ्यो। अन्तिम सात मिनेटमा नेपालले दुई गोल थप्यो। ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्। मध्य भागभन्दा परबाट आएको लामो पास नियन्त्रणमा लिँदै उनले भुटानी गोलकिपरलाई बिट गर्दै गोल गरेकी हुन्। चार मिनेटपछि नै उनले भुटानी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरिन्। मीना देउबाले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै दिएको बललाई पूर्णिमाले एक-एकको अवस्थामा गोल गरेकी हुन्।

यससँगै नेपालले भुटानमाथि ६-१ को जित निकाल्दै शानदार सुरुआत गर्यो। पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि ९-१ को फराकिलो जित हासिल गर्यो। यो संस्करणमा भारत सहभागी भएको छैन। नेपाल, बंगलादेश, भुटान र श्रीलंकासहित कुल चार राष्ट्र सहभागी छन्। लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ। सहभागी चार टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। अब नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेशसँग खेल्नेछ। त्यसपछि नेपालले जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ।

नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ। पछिल्लो संस्करण सन् २०२३ मा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता हो। नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो। तर, फाइनलमा भने नेपाली टोली ३-० को फराकिलो हार सामना गर्न बाध्य भयो। यसपल्ट भने नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको छ। तर, घरेलु टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लक्ष्य सहज नरहेको संकेत दिएको छ।