काठमाडौं । लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले ११औं जित निकालेको छ।

घरेलु मैदानमा मियामीले नशभिल एससीलाई २–१ ले हरायो। यो जितसँगै १९ खेलबाट मियामीको ३८ अंक भएको छ र ऊ आठौं स्थानमा छ। तालिकाको तेस्रो स्थानमा रहेको एससीको भने २२ खेलबाट ४१ अंक छ। पछिल्लो १५ खेलमा अपराजित रहँदै आएको एससीलाई मेसीले ब्रेक लगाएका छन्।


मेसीले १७औं मिनेटमा सुन्दर फ्रि किकमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर ४९औं मिनेटमा एससीले उत्कृष्ट पुनरामगन गर्‍यो। ७२औं मिनेटमा कीर्तिमानी गोल गर्दै मेसीले जित सुनिश्चित गरे। यसपटक एससीका गोलकिपरको गलत निर्णयको फाइदा लिँदै मेसीले बललाई जाली चुमाए।

मेसी एमएलएस इतिहासमै लगातार पाँच खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन्। यसअघि बुधबार न्यु इङ्ल्यान्ड रिभोल्युसनविरुद्ध दुई गोल गरेपछि यस्तो रेकर्ड मेसीले नै राखेका थिए ।