काठमाडौँ । खेलको अन्तिम प्रहारमा बंगलादेशले गोल गरेपछि साफ वुमेन्स यू–२० च्याम्पियनसिपमा नेपाल आइतबार बंगलादेशसँग ३–२ ले पराजित भएको छ । यो जितले बंगलादेश उपाधिका लागि बलियो प्रत्याशी बनेको छ । तर डबल राउन्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगितामा नेपालसामु पुनरागमनको अवसर भने हुनेछ ।

कुल चार टिम सम्मिलित प्रतियोगिताको अन्तिम खेलमा फेरि एकपल्ट बंगलादेश र नेपाल नै भिड्ने छन् र यसले नै सम्भवतः च्याम्पियन टिमको निर्णय गर्नेछ । जितले बंगलादेशको दुई खेलबाट ६ अंक भएको र शीर्ष स्थानमा छ । नेपाल र भुटान समान तीन–तीन अंकमा छन् ।

प्रतियोगिताका बलिया दुई टिमबीचको खेल रोमाञ्चक बराबरीतर्फ अग्रसर भइरहेका बेला बंगलादेशका लागि श्रीमती तृष्णारानी सरकारले निर्णायक गोल गरिन् । उनले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गोल गरिन् । त्यससँग खेल पनि सकिएको थियो ।

त्यस अगाडि नेपालले दुई गोलले पछाडि परेको स्थितिबाट खेललाई २–२ को बराबरीमा ल्याएको थियो । तर नेपाल अन्तिम क्षणमा बंगलादेशी आक्रमणलाई रोक्न असफल रह्यो । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुवै टिम दोस्रो हाफपछि १०–१० खेलाडीमा सीमित भए ।

नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिका सिधा रातो कार्डमा मैदान छाड्न बाध्य भए । खेलको १३ औं मिनेटमा बंगलादेशले सिना जहान सिखाको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि ३६ औं मिनेटमा सागोरिकाले दोस्रो गोल थपिन् । त्यसपछि नेपालका लागि अनि राईले पेनाल्टीबाट गोल गरिन् भने मीना देउवाले दोस्रो गोल थपिन् ।

त्यस अगाडि भएको खेलमा भुटानले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । त्यसमा भुटानका लागि संगे याङ्मो र केल्देन याङ्मोले दुई/दुई गोल गरे । यस्तै नाम्सेल याङ्मोले एक गोल गरिन् । भुटान पहिलो हाफमा तीन गोलले अगाडि रहेको थियो ।

यो जितपछि भुटानले अंकको खाता खोलेको हो । श्रीलंका भने लगातार दोस्रो हारपछि शून्य अंकमै सीमित रहेर चार टिममध्ये पुछारमा रह्यो । अबको खेलमा बंगलादेशले भुटानको सामना गर्नेछ । नेपाल भने श्रीलंकाविरुद्धको खेलमा उत्रनेछ ।