
काठमाडौँ । नेपालको एक मात्र महिला भलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ ।
आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाज नयाँ जोश बोकेर आएको आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो ।
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाइज टोलीको सहभागिता हुनेछ । लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ । लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान दिने लक्ष्य रहनेछ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडी आउने क्रम बढेको छ ।
लुम्बिनी लाभाजले छिट्टै आफ्नो मार्की खेलाडी र मुख्य प्रशिक्षक घोषणा गर्नेसमेत जनाएको छ । एभरेष्ट महिला भलिबल लिगको अक्सन आज हुने तालिका छ । यस्तै, प्रतियोगिताको दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म हुने जनाइएको छ ।







Facebook Comments