
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक राष्ट्रको समाना गर्दैछ । यो खेलले प्रतियोगिताको विजेता को हुने भनेर फैसला गर्नेछ ।
ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा खेल साँज ६ः४५ बजेदेखि सुरु हुनेछ । आज नै भुटान र श्रीलङ्का पनि आमनेसामने हुनेछन् । दुई टोलीबिचको खेल २स्४५ बजे खेलिनेछ । यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबीच डबल राउन्ड रोबिन आधारमा खेलाइएको हो । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
नेपाल ५ खेलबाट १२ अङ्कसहित तालिकामा दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ५ खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ । भुटान ३ अङ्कसहित तेस्रो र अङ्कविहीन श्रीलङ्का पुछारमा रहेको छ ।
गोल अन्तरमा आधारमा भने नेपाल बंगलादेशभन्दा अगाडि छ। ५ खेलमा ३० गोल गर्दै ४ गोल खाएको नेपालको गोलअन्तर ं२६ रहेको छ । उता, बंगलादेशको गोलअन्तर ं२० रहेको छ । त्यसैले, उपाधि जित्नका लागि नेपाललाई आजको खेलमा जीत हात पार्न आवश्यक छ ।
नेपाल प्रतियोगितामा बंगलादेशसँग दोस्रोपटक आमनेसामने हुन लागेको हो । नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।







Facebook Comments