
लमजुङ । भर्खरै न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अहिले आफ्नै घरमा छिन् । उनको घर मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी पामचोक बाँसबोट हो ।
उनकै सम्झनामा मर्स्याङ्दी गाउँपालिकाले खुदीको पुलछेउ ‘साम्बा चोक’ नामकरण गर्दै उनको तस्बिर बोर्ड राखेको छ । यो ठाउँ विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमै पर्छ ।
बंगलादेशमा एसियन छनोट खेलेपछि घर फर्केकी साम्बा घरदेखि घलेगाउँको उकालीओराली गरिरहेकी छन् । साम्बा चोक र साम्बाको भेट बिहीबार भयो, जहाँ उनीसँग विद्यार्थीदेखि किसानसम्मले तस्बिर खिचाए ।
बालबालिकादेखि वृद्धवृद्धासम्म साम्बा चोकमा उभिएकी साम्बासँग झुम्मिए । पाकाहरूले उनलाई आशीर्वाद दिए । पानी पर्दासम्म समर्थकहरूले छाता ओढेरै तस्बिर र भिडियो खिचे ।
साम्बासँग तस्बिर खिच्नेहरू देखेर नजिकै चटपट पसलकी ७० वर्षीया ईश्वरी माया खत्रीलाई साम्बा आफैले जन्माएको छोरी जस्तै लाग्यो । ‘सावित्रासँग मैले ४ वर्षपछि भेटें । नेपालको नाम राखेकी छे,’ उनले सुनाइन् । नातेदार गुमानसिंह भण्डारीका अनुसार सावित्रा आएको खबर पाएपछि उनीसँग तस्बिर लिनेको भीड छ ।
‘छोरीले हाम्रो गाउँ र देशकै राम राखेकी छन् । हामीलाई गर्व छ,’ उनले भने । अमर माविका प्रधानाध्यापक तीर्थबहादुर बस्नेत आफैंले पढाएको विद्यार्थीसँग तस्बिर खिच्न पाउँदा गर्व महसुस गर्छन् । ‘सावित्रा हाम्रो उपज हो भन्न पाउँदा हामीलाई गर्व छ,’ उनले भने ।
गाउँपालिकाबाट जेठ ५ गते साम्बा चोक घोषणा हुँदा सावित्रा फ्रान्समा थिइन् । फ्रान्सबाट बेलायतको गोर्खा कप खेल्ने तयारीमा थिइन् । उनी मे २५ मा बेलायतको गोर्खा कप सकेर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न गएकी थिइन् । त्यसपछि उनी नेपाल फर्किएकी हुन् । उनलाई बिहीबार मर्स्याङ्दी गाउँपालिकाको युवा तथा खेलकुद विकास समिति, अमर मावि खुदीलगायतका संस्थाले सम्मान गरे ।
‘गाउँपालिकाले साम्बा चोक घोषणा गरेको छ । यो मेरा लागि गर्वको कुरा हो । मैले फुटबलको क्षेत्रमा अझै धेरै काम गर्नु छ । यसमा सबैको साथ सहयोग चाहिन्छ,’ सावित्रीले भनिन् । उनले आफूजस्तै धेरैले फुटबल खेलेको हेर्न चाहेको र यसका लागि सरकारले सकारात्मक वातावरण बनाउनुपर्ने बताइन् । गाउँपालिकाले साम्बाको सम्मानसँगै पालिकाभित्र रहेका यू–१९ खेलाडी र विद्यार्थीसँग साक्षात्कार गरेको थियो ।
साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतातर्फ उन्मुख गराउने बताइन् । ‘मैले अझै धेरै अघि बढ्नु छ । मलाई अझै आफू जस्ता धेरैले फुटबल खेलेको हेर्न मन छ । यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ,’ उनले भनिन् ।
उनले इजरायल, भारत, माल्दिभ्सलगायत देशका विभिन्न लिग खेलेकी छन् । नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको योगदानले देशकै खेलकुद क्षेत्रमा प्रेरणा प्रदान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।







Facebook Comments