काठमाडाैँ। अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३ विकेटको जितसहित ५-० ले क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। बलिङतर्फ बेन ड्वारशुइसको उत्कृष्ट प्रदर्शन र मध्यक्रम ब्याट्सम्यानहरूको विस्फोटक पाराले अस्ट्रेलियाले १७१ रनको लक्ष्य १७ ओभरमै भेट्टायो।

पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले १९.४ ओभरमा अलआउट हुँदै प्रतिस्पर्धात्मक १७० रन बनायो। अस्ट्रेलियाका लागि ड्वारशुइसले ३ विकेट लिए भने नाथन एलिसले २ विकेट लिए। एडम जाम्पा, शन एबट, आरोन हार्डी र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

जवाफमा अस्ट्रेलियाको मध्यक्रमले धमाकेदार प्रदर्शन गर्‍यो। मिचेल ओवेनले १७ बलमा ३७ रन, क्याम्रन ग्रीनले १८ बलमा ३२ रन र टिम डेभिडले १२ बलमा ३० रन बनाउँदै जितको आधार तयार गरे। ७ विकेट गुमाउँदा पनि अस्ट्रेलियाले लक्ष्य ३ ओभर बाँकी रहँदै भेट्टायो।

यसअघि अस्ट्रेलियाले पहिलो चार खेल क्रमश: ३, ८, ६ र ३ विकेटले जितेको थियो।