
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार साविक विजेता कोलकाता नाइट राइडर्स र पूर्वविजेता गुजरात टाइटन्सबीच भिडन्त हुँदैछ । खेल कोलकाताको घरेलु मैदान ईडन गार्डन्समा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ३९औँ खेल हो । जारी सिजनको आईपीएलमा यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यो सिजन यी दुवै टोलीले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । अहिले कोलकाताको तुलनामा गुजरातको अवस्था निकै बलियो देखिन्छ ।
कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो ।
कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
गुजरात टाइटन्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।







Facebook Comments