
काठमाडौँ । ब्राजिलले महिला कोपा अमेरिका–२०२५ को फाइनलमा स्थान बनाएको छ । बुधबार बिहान इक्वेडरमा सम्पन्न दोस्रो सेमिफाइनलमा ब्राजिलले उरुग्वेविरुद्ध ५–१ को फराकिलो जित निकालेको हो ।
ब्राजिललाई जित दिलाउन अमान्डा गुटिरेसले दुई गोल गरिन् । यस्तै, जिओ गार्बेलिनी, मार्टा र डुडिन्हाले समान एक–एक गोल गरिन् । उरुग्वेले ब्राजिलकै एक खेलाडीबाट आत्मघाती गोल पाएको थियो ।
खेलको ११औँ मिनेटमा गुटिरेसको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै गार्बेलिनीले ब्राजिलको अग्रता दोब्बर बनाइन् । २७औँ मिनेटमा मार्टाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।
खेलको ५१औँ मिनेटमा ब्राजिलकै इसा हासबाट आत्मघाती गोल भएपछि उरुग्वेले खेललाई ३–१ को स्थितिमा ल्याएको थियो । तर, ६५औँ मिनेटमा गुटिरेसले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिलले अग्रतालाई ४–१ मा पुर्यायो । खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डुडिन्हाले गोल गरेपछि ब्राजिलले सहज जितसहित फाइनल यात्रा तय गरेको हो ।
त्यसअघि, खेलको ५८औँ मिनेटमा यमिला आल्भेजले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । ब्राजिलले अब उपाधिका निम्ति कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल अगस्ट ३ मा हुने तालिका छ ।







Facebook Comments