
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित बोर्ड बैठक अहिले बस्दैछ । अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको मूलपानीस्थित कार्यालयमा बोर्ड बैठक सुरू भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।
आजको बैठकको प्रमुख एजेन्डा एनपीएल नै हुने एक सदस्यले बताए । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।
क्यानभित्रको असन्तुष्ट पक्ष भने एनपीएलको हिसाब अनुमोदन गर्ने पक्षमा छैन । आर्थिक प्रतिवेदन अध्ययन गर्न नदिइएको तथा अख्तियारमा उजुरीसमेत परेकाले एनपीएलको हिसाब अनुमोदन नगर्ने बोर्ड सदस्य प्रदीप मजगैयाले बताए ।
उनले भने, `हामीले पहिल्यैबाट हिसाब देखाउन भन्दा देखाइएन । एकैपटक बोर्ड बैठकमा ल्याएर पारित गर्न खोजिएको छ । तर, यसमा बहुमत बोर्ड सदस्यले हस्ताक्षर गरेने छैनन् । हिसाब अनुमोदन हुँदैन । असन्तुष्ट पक्षले बोर्डमा आफूहरूको बहुमत रहेको दाबी गरिरहेको छ । संस्थापन पक्ष भने आर्थिक प्रतिवेदन अनुमोदन हुनेमा ढुक्क देखिन्छ ।
आजको बैठकमा एनपीएलको दोस्रो संस्करण आयोजनाका लागि अर्को गभर्निङ काउन्सिल गठनको पनि एजेन्डा रहेको छ ।







Facebook Comments