काठमाडौँ । साउदी अरेबियाको राजधानी रियादमा जारी ई-स्पोर्ट्स विश्वकपअन्तर्ग पब्जी मोबाइल विधामा नेपाली टोली, होरा ईस्पोर्ट्स फाइनल चरणमा पुग्न सफल भएको छ । जुलाई २९ र ३० मा भएको सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले शीर्ष ८ भित्र परेर ग्रान्ड फाइनलको यात्रा तय गरेको हो ।


पब्जी मोबाइल वर्ल्ड कप २०२५ को ग्रान्ड फिनाले साउन १६ देखि १८ गते (अगस्ट १ देखि ३) मा आयोजना हुँदै छ । रियादस्थित बोलिभार्ड सिटीको बीआर अरिनामा यो प्रतियोगिता भइरहेको छ ।

पब्जीको ग्रान्ड फाइनलमा १६ टोली सहभागी हुनेछन् । त्यसमा ८ टोली समूह चरणबाट र ८ टोली सर्भाइभल चरण पार गरी अाएका हुन् । समूह चरणबाट छनोट हुनेमा इन्डोनेसियाको अल्टर इगो, चीनको फोर थ्राइभ्स, दक्षीण कोरियाको डीआरएक्स, ब्राजिलको अल्फा सेभेन लगायत छन् । सर्भाइभल स्टेज पार गरेर छनोट हुनेमा टर्कीको रेगनम कार्या, म्यानमारको याङगुन ग्यालेक्टिकोज, साउदी अरेबियाको पावर ईस्पोर्ट्स लगायत छन्।

पब्जको फाइनल चरणमा जम्मा १८ खेल हुनेछन् । तीन दिनमा ६/६ वटा प्रतिश्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब २५ करोड ५० लाख रुपैयाँ) रहेको छ । यसमा सहभागी सबै खेल र शीर्ष स्थानमा पुग्ने टोलीबीच रकम वितरण गरिनेछ । विभिन्न देशका शीर्ष खेलाडीहरूले भाग लिएको यस प्रतियोगितामा नेपाली टोली होरा ईस्पोर्ट्सको फाइनलमा प्रवेश गरेपछि नेपालका गेमिङ पारखीहरूमा उत्साह थपिएको छ । ई-स्पोर्टस विश्वकपमा पब्जी मोबाइलसँगै, डोटा टु, लिग अफ लेजेन्ड्स, काउन्टर स्ट्राइक टु, फिफा, फोर्टनाइट, भ्यालोरन्टजस्ता खेलहरू समावेश छन् ।

साउदी सरकारले ‘भिजन २०३०’ अन्तर्गत प्रविधि, खेलकुद र पर्यटनमा प्रसिद्धि हासिल गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । विश्वकपमा ५० भन्दा बढी देशका सयौँ खेलाडी सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ६० मिलियन अमेरिकी डलरभन्दा बढी (करिब ८ अर्ब रुपैयाँ) रहेको छ । यसमा विभिन्न प्रायोजक, प्रविधि कम्पनीहरू र गेम डेभलपरहरूले लगानी गरेका छन् । यस विश्वकपलाई अन्तर्राष्ट्रिय मिडिया, स्ट्रिमिङ प्लाटफर्म र गेमिङ च्यानलहरूले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।