
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबलको माध्यमबाट बालबालिकाको क्षमता अभिवृद्धि गर्न नेपालमा ‘फुटबल फर स्कुल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
युनिसेफसँगको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन्। फिफाका डेलिगेसनसहित नेपालले दशरथ रंगशालामा यो कार्यक्रमको उद्घाटन गरेको हो। विशेषतः यो कार्यक्रम ४ देखि १४ वर्षसम्मका विद्यालयका छात्रछात्रालाई लक्षित कार्यक्रम हो। फिफाले पहिलो पटक आफ्नो २ सय ११ वटा सदस्य राष्ट्रमा यो कार्यक्रम लागू गर्न लागेको हो। फिफाका १ सय ३९ भन्दा बढी राष्ट्रले यो कार्यक्रमलाई पहिलो पटकमै खुलेर स्वागत गरेका छन्।
फिफाका अनुसार यसको अवधारणा सन् २०१९ मा लेबनानमा सुरु गरिएको थियो। सन् २०२१ देखि २०२३ सम्म चल्ने आकलन गरिएको यो कार्यक्रम २०२५ मा नेपालमा पनि प्रवेश गर्न सफल भएको हो। नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालयलाई समेत सहभागी गराएर अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा यो अभियान सञ्चालन गर्न लागेको हो। फिफाले दक्षिण एसियाली क्षेत्रमा यसअघि भारतमा यो कार्यक्रम लागू गरेको थियो। यो कार्यक्रमबाट नेपालका ६ लाखभन्दा बढी विद्यार्थी र ५० हजारभन्दा बढी शिक्षक र प्रशिक्षक लाभान्वित हुने अपेक्ष गरिएको छ।
नेपालका ६८ जिल्लाबाट १,०७२ विद्यालयले हालसम्म यो कार्यक्रमका लागि स्वीकृति लिइसकेका छन्। बाँकी ९ जिल्लाबाट भने एउटा पनि विद्यालयले यस कार्यक्रमका लागि दर्ता नगराएको एन्फाले जनाएको छ। जसमा तेह्रथुम, पर्वत, म्याग्दी, प्युठान, अर्घखाँची, दैलेख, डोटी, दार्चुला र बैतडी छन्। उनीहरूलाई पनि यस कार्यक्रममा सहभागी गराउने प्रयास जारी रहेको एन्फाले जानकारी दिएको छ। यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको एन्फाले जनाएको छ।







Facebook Comments