.png)
काठमाण्डाैँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले दशाैँ राष्ट्रिय खेलकुदको मिति चाँडै भन्दा चाँडै सार्वजनिक गरिने बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा एक वर्षको कार्य तथा नीतिगत सुधारको सार्वजनिकीकरण कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री चौधरीले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भएका कार्य तथा नीतिगत सुधार सार्वजनिक गर्दै आगामी कार्यक्रमहरू पनि घोषणा गरेका छन् ।
कार्यविवरणमा राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिएको कुरादेखि युवा विकासमा गरिएका कामहरू उल्लेख गरिएको छ ।
त्यस्तै नेपालमा स्पोर्ट्स इन्भेष्टमेन्ट समिट २०२५ को आयोजना गर्ने घोषणा पनि गरिएको छ ।
त्यसैगरी झापामा झापा स्पोर्टस एकेडेमी निर्माणका लागि आवश्यक जग्गा प्राप्ति, डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भक्तपुर जिल्लामा ५० हजार सिट क्षमताको फुटबल रंगशाला निर्माण कार्य अघि बढाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल कवर्ड हल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ ।
नेपालको दोस्रो पुरानो नारायणी रंगशाला र नारायणी कभर्डहलको पुनर्निर्माण कार्य पनि अघि बढेको छ । साथै दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बु लगायत उच्च हिमाली जिल्लाहरूमा हाइ अल्टिट्युड स्पोर्ट्स सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
मन्त्रालयको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत फिफा फुटबल फर स्कूल्स कार्यक्रम अन्तर्गत ३२ हजार फुटबल वितरण गरिने उल्लेख छ । यो कार्यक्रम बिहीबार प्रधानमन्त्रीबाट शुभारम्भ भइसकेको छ ।
युवाहरुलाई लक्षित गर्दै ७ वटै प्रदेशमा सिप मेला तथा सिप विकास तालिम सञ्चालन गरिनेछ भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल जारी रहेको मन्त्री चौधरीले जानकारी दिएका छन् ।







Facebook Comments