काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्’, उनले भने ।

राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताए ।

‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु’, उनले भने।

बझाङका बाघका रुपमा परिचित नेपाली एमएमए फाइटर रवीन्द्रले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीका लागि गौरवको विषय भएको उनले बताए ।