काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ तदर्थ समिति गठन भएको छ । एनओसीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक साताअघि वर्तमान एनओसी कार्यसमिति अवैधानिक रहेको र छिटै नयाँ समिति गठन गर्ने घोषणा गरेका थिए ।

तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारी (कुस्ती संघका पूर्वअध्यक्ष, नेपाल मुस्लिम आयोगका पूर्वअध्यक्ष) ले विज्ञप्ति गर्दै प्रधानको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको जनाएका छन् ।

एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीको भेलाले तदर्थ समिति गठन गरिएको एनओसीकै लेटरहेड र छापमा जारी विज्ञप्तिमा जनाइएको छ ।

हाललाई अन्य पदाधिकारीको बारेमा जानकारी दिइएको छैन ।

योसँगै एनओसी फेरि एक पटक औपचारिक रुपमै विवादमा आएको छ ।

गत पुसमा सम्पन्न एनओसी निर्वाचनले जीवनराम श्रेष्ठलाई तेस्रो पटक निर्वाचित गरेको थियो । उक्त निर्वाचन अवैध भएको भन्दै चर्को विरोध भएको थियो ।

यसको विवाद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्देशनमा एसियाली ओलम्पिक परिषद्ले समाधान गरे पनि यसको मुद्दा अदालतमा थाँतीमै छ ।

श्रेष्ठले तेस्रो कार्यकाल नेतृत्व लिन खोजेपछि बढेको विवाद तदर्थ समिति गठन भएसँगै फेरि पुरानै स्थितिमा फर्केको हो ।

नेपालमा ओलम्पिक कमिटीलाई कुनै पनि सरकारले स्वीकारेको अवस्था छैन । सरकारले आफैँ ओलम्पिक चलाउन खोज्छ । जसको परिणाम सन् १९६३ देखि ओलम्पिक विवाद कायमै छ ।

तदर्थ समिति गठन भएपछि अध्यक्ष प्रधानसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । प्रधान दुई पटक अध्यक्ष भएका थिए । राप्रपाका उपाध्यक्ष उनी सांसदसमेत छन् । उनी नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक हुन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त अध्यक्ष श्रेष्ठले भने, ‘कसले कहाँ बसेर म के हुँ भन्छ त्यो सरोकारको विषय भएन । ओलम्पिक चार्टर्ड र नेपालको कानून (खेलकुद विकास ऐन २०७७ मा एउटामात्र ओलम्पिक कमिटी हुने उल्लेख) अनुसार पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त एउटामात्र ओलम्पिक कमिटी हुने उल्लेख रहेको छ । त्यो मेरै नेतृत्वमा रहेको छ ।’

उनले ओलम्पिकको लेटर प्याड प्रयोग भएकोप्रति गम्भीर आपत्ति जनाए । उनले भने, ‘कसैले हाम्रो लेटरप्याडको दुरुपयोग प्रयोग गर्छ भने यो गैरकानूनी हो । हाम्रो ओलम्पिक कमिटीको लेटर प्याड दुरुपयोग गर्ने जोसुकै विरुद्धमा हामी कानूनी उपचारमा जान्छौँ ।’

श्रेष्ठ तेस्रो पटक अध्यक्ष छन् । नियमित दुई कार्यकाल भन्दा बढी अध्यक्ष बन्न नपाउने विधान भए पनि त्यसलाई संशोधन गरेर श्रेष्ठ अध्यक्ष भएका हुन् । उनी नेकपा एसका नेता हुन् ।

प्रधान अध्यक्ष रहँदा दुवै कार्यकाल श्रेष्ठ महासचिव थिए । प्रधान अध्यक्ष हुँदा पनि पूर्व अध्यक्ष रुक्मशमशेर राणा पक्षले तदर्थ समिति गठन गरी राष्ट्रिय मान्यता प्राप्त भन्दै संचालन गरेको थियो ।