काठमाडौँ । आजदेखि सुरु हुन लागेको टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले त्यसपछि त्यहाँका स्थानीय क्लबहरुसँग थप खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार टप एण्ड टी–२० सिरिजपछि नेपालले दुईवटा क्लबसँग थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ ।

क्यानले खेल तालिका पनि सार्वजनिक गरेको छ । तालिकाअनुसार २६ र २८ अगष्टमा दुई/दुई र ३० अगष्टमा एक खेल हुनेछ ।

जसमा चारवटा खेलहरु टी–२० हुनेछन् भने अन्तिम खेल एक दिवसीय हुनेछ । नेपालले २६ अगष्टमा क्रिकेट एसीटी टिमविरुद्ध दुईवटा टी–२० खेल एकैदिन खेल्नेछ ।

यस्तै २८ अगष्टमा साउथ अस्ट्रेलिया टिमसँग पनि दुई टी–२० खेल्नेछ । ३० अगष्टमा भने साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्नेछ ।