
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुनेछ ।
मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेल वानखेड स्टेडियममा नेपाली समय अनुसार आइतबार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । जारी सिजनको आईपीएल उत्तरार्धतर्फ अघि बढिरहँदा मुम्बई र लखनउ दुवै प्रतियोगिताको प्लेअफ चरणमा पुग्न संघर्षरत छन् ।
आईपीएलको जारी संस्करणमा यी दुवै टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा लखनउले मुम्बईलाई १२ रनले हराएको थियो । मुम्बई इन्डियन्सले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ ।
मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो ।
फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो । त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो ।
आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो । मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो ।
मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो । लखनउ सुपर जायन्ट्सले भने हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन ।
सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो । लखनउ दुई पटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो ।
लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो । जारी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सले हालसम्म नौ–नौ खेल खेलिसकेका छन् ।
यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सँघर्षरत देखिन्छन् । त्यसैले आइतबारको खेलमा यी दुवै टोली एक अर्कालाई हराउँदै अगाडि बढ्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।







Facebook Comments