
विराटनगर । नेपाली क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तरगत बनाइदिने भनिएको घर आफूले नलिने बताएका छन् । आफ्नो परिवार राख्न घर बनाउन आफै सक्ने भन्दै उनले जसका लागि आएको हो उसैलाई घर बनाइदिन समेत आग्रह गरेका छन् ।
उनले विराटनगरका सञ्चारकर्मीसँग कुरा गर्दै आफू घर बनाउन सक्षम भएको भन्दै घर जुन समुदायका लागि आवश्यक पर्ने हो त्यही समुदायलाई बनाइदिन समेत सरकारलाई आग्रह गरे । उनले भने, ‘म यसैपालि घर बनाउने योजनामा थिए । आमाको निधन भएका कारण बनाउन सकिन ।’
उनले आफू भन्दा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत घर बनाउन सरकारले बजेट विनियोजन गरेको बताए । उनले भने, ‘त्यो घर विपन्नका लागि बनाइदिने हो । जसका लागि आवश्यक हो त्यो उसैलाई दिनु । म अहिले आफ्नो परिवार राख्ने घर बनाउन सक्षम छु ।’
उनले सरकारले सहानुभूति गरेर केही दिन्छ भने लिन भने तयार रहेको बताए । उनले भने, ‘सरकारले सहानुभूति गरेर दिन्छ भने ठिक छ तर सरकारले मेरै लागि भनेर दिनपर्यो । अरूका लागि भनेर आएको कुरा म लिन्न ।’ ललित राजवंशीका परिवार विराटनगरमा बस्दै आएको छ । उनको परिवारको नाममा विराटनगर महानगरपालिका भित्र एक विगाह जग्गा रहेको छ ।
क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन पछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रम अन्तरगत राजवंशीको घर बनाइदिने बताएका थिए । यो निर्णयले उनले प्रशंसा समेत बटुलेका थिए । अर्याल मोरङ क्षेत्र नम्बर ५ (२) बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनी ललितको निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य समेत हुन् । उनी नेपाली कांग्रेस कोशीको संसदीय दलको नेतामा उम्मेदवार बनेका थिए । निर्वाचनमा उनले २ मत पाएका थिए । उनै नेता अर्यालले जनता आवास कार्यक्रम अन्तरत क्रिकेटर राजवंशीलाई घर बनाइदिने घोषणा गरेका थिए ।







Facebook Comments