काठमाडौँ । अस्ट्रेलियामा भइरहेको टप इन्ड टी–२० क्रिकेटमा शुक्रबार नेपाली टोली सनसनीपूर्ण बनेको खेलमा पाकिस्तान साहिन्ससँग एक रनको झिनो अन्तरले पराजित भएको छ ।

१ सय ४५ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाई १४३ रनमात्र बनाउन सक्यो । अन्तिम बलमा ३ रन आवश्यक भयो । क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख थिए । दीपेन्द्र एक रन लिएर आउट हुन पुगेपछि नेपाल पराजय भोग्न बाध्य भयो । नेपालले अन्तिम ओभरमा ८ रन चाहिँदा ६ रनमात्र बटुल्न सक्यो ।

नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४४ बलमा ५२ रन जोड्दा ६ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंहले २१ बलमा ४१ रन जोड्दा २ छक्का र एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल (४) लाई तेस्रो ओभरमा गुमाएको नेपालबाट आरिफ शेखले २७ रन बनाए । उनले ३० बल खेल्दा १ चौका हाने । आरिफ र रोहितले अर्धशतकीय साझेदारी गरेर टोलीलाई उकासेका थिए । गुलसन झा (३), कुशल मल्ल (२) लाई सस्तैमा गुमाएको नेपालका लागि लोकेश बलमे १० रन जोडे ।

साहिन्सका लागि फैजल अक्रम र मोहम्मद वसिमले समान २ र मोहम्मद सलमानले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तान युवा टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४४ रन बनाएको थियो । डार्बिनको मारारा क्रिकेट मैदान–२ मा नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरे पनि पाकिस्तान साहिन्सले अन्तिम ५ ओभरमा ६१ रन जोड्दै हेर्नलायक स्कोर बनाएको थियो । कप्तान इरफान खान ३६ बलमा ४२ रन बनाई अविजित रहे । उनले इनिङ्सको अन्तिम बलमा कुशल मल्ललाई छक्का प्रहार गरे । उनले कुल ३ चौका र १ छक्का हाने ।

खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरमै दीपेन्द्रसिंहले ओपनर माज सदाक्तलाई १ र मोहम्मद फैजलाई २ रनमा आउट गरेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । अर्का ओपनर यासिर खानलाई कुशल भुर्तेलले १८ रनमा आउट गरेपछि नेपाल बलिङमा हाबी भयो । नन्दन यादवले एकै ओभरमा अब्दुल समाद र घाजी घोरी (४) लाई आउट गरे । पाकिस्तानका लागि ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका समादले २५ बलमा समान १ चौका र छक्कासहित २६ रन बनाए ।

इरफान र मोहम्मद वासिमले आठौं विकेटमा ४० रनको अविजित साझेदारी गरे । वसिमले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए । नेपालबाट सोमपाल कामीले ३ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । दीपेन्द्रले ३ ओभरमा १५ र नन्दनले ४ ओभरमा ३२ रन खर्चेर २–२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

यो पराजयले नेपालको प्रतियोगितामा सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । ११ टोली समावेश प्रतियोगितामा ६ खेलमा २ मा जित पाएको नेपाल ४ अंकसहित आठौं स्थानमा छ । यो खेल जितेको भएमात्र नेपालको शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्ने आशा कायमै रहने थियो । पाकिस्तान साहिन्स ६ खेलमा चौथो जित निकाल्दै प्रतियोगिताको दोस्रो स्थानमा पुग्यो । सिकागो किंग्समेन ५ खेलमा ५ जितसहित शीर्षस्थानमा छ ।