
काठमाडौँ । अस्ट्रेलिया टुरमा रहेको नेपाली टोलीले साउथ अस्ट्रेलियन टोलीसँग खेलेको पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालले दिएको १४७ रनको विजय लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा रोहित पौडेललाई साउथ अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै साउथ अस्ट्रेलियालाई जित दिलाएका हुन्। साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन बनायो भने हार्बीले २७ रन बनाए। डी ड्रिउले २४,एच मानिन्तीले २२, डी होजरङबोजेमले २८ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सार्कीले सर्वाधिक ३२ रन बनाए। ओपनर आशिफ शेखले १३ बलमा २२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए।
सोमपाल कामी १८ र सन्दिप लामिछाने ५ रनमा अविजित रहे। अन्य ब्याटरले पनि दोहोरो अङ्कको रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको लागि बलिङतर्फ टि ब्राउन र एच मानिन्ती ले समान २-२ विकेट लिए । एम सि फेडेन र मिनिजले १/१ विकेट लिए
नेपालले यसअघि डार्विनमा टप एन्ड टी २० सिरिज खेलेको थियो। जसमा नेपालले १० टिमबिच भएको प्रतिस्पर्धामा दुई खेल जित्दै आठौं भएको थियो। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल खेल्नेछ।







Facebook Comments