
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगितामा बुधबार खेलिएको खेलमा नेपाल पहेँलोले नेपाल हरियो टोलीलाई पाँच विकेटले हराएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल हरियोले निर्धारित ५० मध्ये २७.२ ओभरमै अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल पहेँलोले १७.५ ओभरमै पाँच विकेट गुमाएर ९८ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । नेपाल पहेँलोको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रनको योगदान गरे । उनले ३६ बलमा आठ चौका पनि प्रहार गरे ।
किरण ठगुन्नाले पनि टोलीका लागि २९ रनको योगदान गरे । उनले २८ बलमा एक छक्का र तीन चौका पनि हिर्काए । नेपाल हरियोका बलर सोमपाल कामीले तीन र रिजन ढकालले दुई विकेट लिए । त्यसअघि नेपाल हरियोका लागि ओपनर अर्जुन कुमालले ३० रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका पनि प्रहार गरे ।
अर्का ओपनर आसिफ शेखले २० रन बटुले । कप्तानसमेत रहेका आसिफ शेखले २० बलमा चार चौका पनि प्रहार गरे । पवन सर्राफले पनि १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाल पहेँलोका बलर विशाल पटेल र अविनाष बोहराले तीन–तीन विकेट लिए । कमलसिंह ऐरी र रुपेश कुमार सिंहले पनि दुई–दुई विकेट हात पारे ।
क्यानले लिग–२ प्रतियोगिताका प्रशिक्षणमा रहेका खेलाडीहरुलाईसहभागी गराएर आन्तरिक प्रतियोगिता आयोजना गरेको हो । आन्तरिक प्रतियोगिताका लागि खेलाडीहरुलाई चारवटा टोलीमा विभाजन गरिएको छ । टोलीको नाम नेपाल ब्लू (निलो), नेपाल ग्रिन (हरियो), नेपाल रेड (रातो) र नेपाल यलो (पहेँलो) राखिएको छ । चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।







Facebook Comments