कास्की । मार्की खेलाडी अरुणा शाहीको अनुपस्थितिबीच मैदान उत्रिएको लुम्बिनी लाभाजले पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको खेलमा लुम्बिनीले पोखरा निन्जाजमाथि संघर्षपूर्ण जित निकालेको हो ।

आइतबारको दोस्रो खेलमा लुम्बिनीले घरेलु टोली पोखरालाई ३–२ को सेटमा हरायो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्‍यो ।

निकै प्रतिस्पर्धात्मक भएको चौथो सेटमा लुम्बिनीले म्याच प्वाइन्टमा पुगिसकेको पोखरालाई रोक्न सफल भयो । अन्तिममा लुम्बिनीले २८–२६ ले जित निकाल्यो । पाँचौं सेटमा लुम्बिनीले सुरुबाटै अग्रता कायम गर्‍यो । अन्तिममा लुम्बिनीले १५–१० को सहज जित दर्ता गर्‍यो । मार्की खेलाडी शाही घाइते भएर मैदान बाहिर रहनु पर्दा लुम्बिनी दबाबमा रह्यो ।

लुम्बिनी पहिलो खेलमा कर्णाली यश्विससँग ३–१ को सेटमा पराजित भएको थियो । पोखरा पहिलो खेलमा कर्णाली यश्विस र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आइतबारको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

लिगमा ललितपुर र कर्णालीको बराबर ६–६ अंक छ । दुवै खेल सोझो सेटमा जितेकाले ललितपुर अंकतालिकाको शीर्ष स्थानमा छ । मधेश युनाइटेड ३ अंकसहित तेस्रो र समान ३ अंक नै भएको काठमाडौं स्पाइकर्स चौथो स्थानमा छ । २ अंक रहेको लुम्बिनी पाँचौं र जितविहीन पोखरा पुछारमा छ । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यश्विस र काठमाडौं स्पाइकर्सबीच दिउँसो दुई बजे हुनेछ । दोस्रो खेलमा ललितपुर क्विन्स र लुम्बिनी लाभाज भिड्नेछन् ।