
काठमाडाैँ । मलेसियासँगको पाँच खेलको टी २० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले ५ खेलाडी परिवर्तन गर्दै १४ सदस्यीय टोली घोषणा गरेको हो ।
इन्दु बर्माको कप्तानीमा घोषित टोलीमा पछिल्लो पटक आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एसिया छनोट खेलेका टोलीका पाँच खेलाडी परिवर्तन गरेको छ । अनुभवी अलराउन्डर सीता रानामगरसँगै रुवि पोद्दार, रचना चौधरी र सोमु विष्टले टोलीमा पुनरागमन गर्दा यशोदा विष्ट र सावित्री धामीले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। २५ वर्षीया यशोदाले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी छन्।
यस्तै १७ वर्षीया सावित्री यू–१९ टोलीकी सदस्य हुन्। उनले यू–१९ विश्वकपसमेत खेलिसकेकी छन्। घरेलु क्रिकेट भने उनले सुदूरपश्चिम प्रदेशबाट खेल्छिन्। अघिल्लो पटक टोलीको सदस्य रहेका सबनम राई, मनिषा उपाध्याय, ईश्वरी विष्ट, बिन्दु रावल र रोमा थापाले भने टोलीमा स्थान बनाउन सकेनन्।
नेपाल र मलेसियाले अक्टोबर २ देखि ८ तारिखसम्म टी २० शृंखला खेल्ने छ। त्यसअघि सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियन सुपर वुमन्स सिरिजमा नेपाली खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन्। नेपालले आगामी जनवरीमा घरेलु मैदानमा आईसीसी महिला टी २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसकै तयारीका लागि मलेसियामा शृंखला खेल्न लागेको हो। ग्लोबल छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसबाट ४ टोली २०२६ को महिला टी २० विश्वकपमा छनोट हुनेछ ।
यस्तो छ राष्ट्रिय महिला टोली
इन्दु वर्मा (कप्तान), पूजा महतो, राजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुविना क्षत्री र सीता राना मगर ।







Facebook Comments