काठमाडौँ । पछिल्ला तीन खेलमा एकपछि अर्को पराजय भोगेपछि लयमा फर्किएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा भने सफलता हात पारेको छ ।  अमेरिकी ब्यवसायिक लिग एमएलएसको आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले न्यु योर्क रेड बुल्सलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।

इन्टर मियामीको सजिलो जितमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले पनि एक–एक गोलको योगदान गरे । इन्टर मियामीको टोली यसअघि कनकाकाफ च्याम्पियन्स लिगको सेमिफाइनलको दुबै लेग खेलमा क्यानेडियन प्रतिद्वन्द्वी भानकुभर ह्वाइटक्याप्ससँग पराजित भएको थियो ।यसैगरी, इन्टर मियामीको टोली एमएलएस अन्तर्गतको खेलमा पनि एफसी डालाससँग हारेको थियो । न्यु योर्क रेड बुल्सविरुद्धको खेलमा इन्टर मियामीका लागि पहिलो गोल फाफा पिकाउल्टले गरेका थिए ।

फाफाले खेल सुरु भएको नवौँ मिनेटमै स्वारेजको पासमा टोलीलाई अग्रता दिलाएका थिए । निर्धारित समयको ३०औँ मिनेटमा मार्सेलो विगान्टले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए ।  यसैगरी, ३९औँ मिनेटमा स्वारेजले टोलीका लागि तेस्रो गोल थपेका थिए । निर्धारित समयको ४३औँ मिनेटमा न्यु योर्क रेड बुल्सका लागि एरिक म्याक्सिमले एक गोल फर्काएका थिए ।

निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि अर्जेन्टिनी स्टार मेस्सीले चौथो गोल थपेका थिए । इन्टर मियामी लिग तालिकाको चौथो स्थानमा आसिन छ । इन्टर मियामीले १० खेलबाट २१ अंक जोडेको छ ।