काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको साफले सोमबार खेल तालिका सार्वजनिक गरेको हो।

डिसेम्बर ५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन नेपालको विभागीय टोली एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमीसँग खेल्नेछ।

प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका पाँच क्लबको सहभागिता रहने छ। जसमा बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराँची फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताका खेल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।