काठमाडौँ ।  चलचित्र ‘हरिबहादुरको जुत्ता’ आज नवौं दिनमा प्रदर्शन भइरहेको छ । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्रमा स्वस्तिमा खड्का, प्रकाश सपूत, दिव्यदेव, हरिहर शर्मालगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा पनि हरिवंश आचार्यले नै लेखेका छन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको लोकप्रिय टेलिचलचित्र ‘हरिबहादुर मदनबहादुर’को चरित्रबाट यो चलचित्रको प्रमुख पात्रको चरित्र तानिएको छ । चलचित्रको नाम पनि हरिबहादुर चरित्रबाटै राखिएको छ । ‘हरिबहादुर’ पछि ‘...को जुत्ता’ थपिएको छ ।

टेलिचलचित्र ‘हरिबहादुर मदनबहादुर’मा ‘हरिबहादुर’को भूमिकामा हरिवंश आचार्य र ‘मदनबहादुर’को भूमिकामा मदनकृष्ण श्रेष्ठ छन् । तर, यो चलचित्रमा ‘हरिबहादुर’को चरित्रलाई मात्रै तानियो । किन मदनकृष्ण यो चलचित्रमा छुटे ?

हरिवंश आचार्यले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । त्यो ‘सरप्राइज’ हो मदनकृष्ण श्रेष्ठको अभिनय । निर्माण टिमले मदनकृष्ण श्रेष्ठको अभिनय रहेको बारे जानकारी दिएको थिएन । पब्लिसिटी कन्टेन्टमा पनि कतै उनको तस्बिर र नाम राखेको थिएन/छैन । सिनेमाको पोस्टर र ट्रेलरको क्रेडिटलाइनमा पनि मदनकृष्णको नाम छैन ।

तर, चलचित्रमा मदनकृष्ण छन् । क्लाइमेक्समा मदनकृष्ण टुप्लुक्क आइपुग्छन् । फटाईं गर्दै हिँड्ने हरिबहादुरलाई त साथ दिएँ भने अब सुध्रिएपछि साथ दिन्नँ भन्दै क्लाइमेक्समा मदनकृष्ण देखिएका छन् । टेलिचलचित्र ‘हरिबहादुर’मा सँगै देखिएका उनीहरू चलचित्रमा पनि छुटेनन् ।

असोज १३ गतेबाट रिलिज भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।