
काठमाडौं । कलाकार केदार घिमिरेले चलचित्र ‘माइतीघर’ हाउसफूल अकुपेन्सीमा चलिरहेको बताएका छन् । चलचित्रलाई प्रदर्शकले दिएका अधिकांश शो हाउसफूल रहेको उनले बताएका छन् ।
“म अहिले नेपालगञ्जमा छु । यहाँका आजका सबै शो हाउसफूल भएका छन्,” मंगलबार नेपालगञ्जबाट केदार घिमिरेले भने, “हाम्रो चलचित्रलाई जति पनि शो दिइएको छ, सबै शो हाउसफूल छन् ।”
‘माइतीघर’का कलाकार दर्शकको प्रतिक्रिया बुझ्न काठमाडौंसहित मोफसलमा हलमा पुगिरहेका छन् । रोहित अधिकारीको निर्माण रहेको ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । केदार घिमिरे, धीरज मगर, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।
निर्माता रोहितले प्रदर्शकले नेपालीभन्दा हिन्दी सिनेमालाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । आफ्नो चलचित्र काठमाडौं र मोफसलका अधिकांश शो हाउसफूल अकुपेन्सीमा चलिरहेको दाबी गरेका छन् ।
‘माइतीघर’ दसैँको छेको पारेर फूलपातीका दिनदेखि प्रदर्शन भइरहेको छ ।







Facebook Comments