
काठमाडौं । अमेरिकाको सिको गर्दै पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।
पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।
यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।
पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ । अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ । ‘युरो न्यूज’का अनुसार, मन्त्री एन्तोनियो लेइतो अमारोले गत साता पनि यो मुद्दा उठाएका थिए । उनले पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको बताएका थिए ।
उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ । तीमध्ये धेरैजसो त्यस्ता व्यक्ति हुन्छन् जसले नियम उल्लंघन गरेका कारण देश छाड्नुपर्ने आदेश दिइन्छ ।
युरोपका अन्य देशहरू जस्तै पोर्चुगलमा पनि दक्षिणपन्थी सोच बढ्दो छ । विज्ञहरूका अनुसार, दक्षिणपन्थ, राष्ट्रवाद र जनप्रियवादको भावना बलियो बन्दै जाँदा राष्ट्रिय राजनीतिमा असर परेको छ । मार्च २०२४ मा सम्पन्न चुनावमा धुर–दक्षिणपन्थी शेगा पार्टीको जनाधार बढेको थियो र १८ प्रतिशत भोट ल्याउँदै पोर्चुगलको तेस्रो ठूलो पार्टी बनेको थियो ।
सन् २०१९ मा स्थापना भएको यो पार्टीले छोटो समयमै उल्लेखनीय आधार बनाएको छ । पार्टीका नेता आन्द्रे वेन्तुरामाथि जातीय भेदभाव ९रेसिज्म० र इस्लामविरोधी विचार (इस्लामोफोबिया) राख्ने आरोप लाग्दै आएको छ ।






Facebook Comments