
माघ १ मा ‘भाईरल गोर्खे’
काठमाडौँ । चलचित्र ‘भाईरल गोर्खे’ले रिलिज डेट लिएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको रिलिज डेट लिएको हो ।
अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ । पोस्टरमा सिनेमाका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । रोमान्टिक भावमा देखिएका सौगात र सृष्टिको छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यो सिनेमा गीतको टाइटल हो । पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई संकेत गरेको छ ।
‘भाईरल गोर्खे’ले टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएको निर्माणपक्षले बताएको छ । ‘भाईरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।चलचित्रमा अमर महर्जनको सिनेमेटोग्राफी रहेको छ ।







Facebook Comments