काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न महाधिवेशन यतिबेला केवल एक साधारण पार्टी–कार्यक्रम होइन, आगामी दशकको वाम–राजनीतिको स्वरूप निर्धारण गर्ने निर्णायक मोड बनेको छ । लामो समयदेखि पार्टीलाई आफ्नो राजनीतिक शैली र निर्णय–केन्द्रमा राख्न सफल रहेका अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वका लागि मैदानमा उत्रदैछन् । विगतमा लामो समयदेखि ओलीलाई साथ दिएका अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षका लागि ओलीविरुद्ध मैदानमा उत्रिने घोषणा गरिसकेका छन् । 

ओलीको चुलोभित्रको नेता’ मानिने पोखरेल, यसपटक पहिलोपटक खुला प्रतिस्पर्धाका रुपमा ओलीलाई चुनौती दिन तयार देखिनुले एमालेभित्रको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

उमेर सीमा हटेपछि ओलीको रणनीतिक पुनरागमन

एमालेमा लागू गरिएको ‘७० वर्षपछि शीर्ष पद नपाइने’ नियम, जो औपचारिक रूपमा नेतृत्व हस्तान्तरणको उद्देश्यले ल्याइएको थियो, अन्ततः खारेज भयो र यसको प्रत्यक्ष लाभ अध्यक्ष ओलीले लिन खोजेका छन् । यसले पार्टीभित्र एउटा स्पष्ट सन्देश दियो कि ओलीले जतिबेला जे नियम बनाउन मन लाग्यो त्यही बनाउन सक्छन् । पार्टी संरचनामा उनको प्रभाव त्यत्तिकै गहिरो छ ।

नियम हटाउनु स्वयं एक राजनीतिक निर्णय थियो, जसले ओलीका प्रतिस्पर्धीहरूको विकल्प सीमित बनायो । यसले देखायो कि एमाले अझै पनि ओलीको व्यक्तिवादी चरित्रबाट बाहिर निस्किएको छैन ।

ईश्वर पोखरेलको चुनौती : संगठनभित्र दबिएको असन्तोषको प्रतिनिधित्व

पोखरेल एमालेका ती नेता हुन्, जो सधैं संगठन–मुखी, सौम्य तर दृढ छविमा देखिन्छन् । यही कारण ओलीले आफैँलाई नजिक राखेर संगठनका जिम्मेवारीहरू दिँदै आएका थिए । तर आज उनी ओलीकै विरुद्ध उभिन आएका छन् । यो केवल व्यक्तिगत आकांक्षा नभई लामो समयदेखि बढ्दै गएको एउटा मौन असन्तोषको अभिव्यक्ति पनि हो । तर पोखरेलले रोजेको बाटो जोखिमपूर्ण छ । ओलीलाई चुनौती दिएपछि राजनीतिमा आफ्नो भविष्य अस्थिर बन्ने खतरा धेरै छ, जसको उदाहरण इतिहासमा थुप्रै पटक देखिइसकेको छ । किनकी अध्यक्ष ओली आफूसँग राजनीतिक प्रतिस्पर्धामा आउनेविरुद्ध कठोर नीति लिन्छन्, भित्तामै पुर्याइदिन्छन् । त्यसैले, पोखरेलको चुनौती केवल प्रतिस्पर्धा होइन—राजनीतिक अस्तित्वको जुवाखेल हो ।

विद्या भण्डारीको साथ : समीकरण कता झुक्छ ?

पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले संगठनमा अझै पनि गहिरो प्रभाव राख्छिन् । पोखरेलसँग उनको निकटता र संभावित समर्थनले महाधिवेशनको प्रतिस्पर्धालाई नयाँ अर्थ दिएको छ । 

एमाले महाधिवेशनको यो प्रतिस्पर्धाले दुई सम्भावनाहरू जन्माउँछ । यदि ओली पुनः अध्यक्ष बने भने एमालेमा ‘नियन्त्रण–मुखी’ केन्द्र पुनः बलियो हुन्छ । पुस्तान्तरण केही वर्ष पछाडि धकेलिन्छ । 

यदि पोखरेल विजयी भए भने एमालेमा ऐतिहासिक पुस्तान्तरण सुरु हुन्छ । ओलीको प्रभाव सीमित हुँदै जानेछ । 

जेनजी आन्दोलनपछि पार्टीमा पुराना नेताको हालिमुहाली अन्त्य हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ । जेनजी आन्दोलनका बेला प्रधानमन्त्रीसमेत रहेका ओलीले त्यसबेलाको दमन र हत्याको जिम्मेवारी पनि लिनुपर्ने आवाज एमालेभित्रै उठिरहेको छ । तर यि कुरा मान्न ओली तयार छैनन् । ओलीमा पुरानै शैली देखिएको छ, उनी कत्ति पनि परिवर्तन भएका छन् । यस्तो अवस्थामा बाहिर बोल्न नसकेका तर भित्रभित्रै ओलीसँग असन्तुष्ट भएकाहरुले एमालेको महाधिवेशनमा नतिजा जता पनि पल्टाइदिन सक्छन् ।

एमालेले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ । एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एमालेको दसौं महाधिवेशन चितवनमा २०७८ मंसिरमा भएको थियो । त्यसअघि ९ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको थियो । पाँचौं महाधिवेशन पनि काठमाडौंकै प्रज्ञा भवनमा भएको थियो ।