काठमाडौँ । काठमाडौँकोमातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको उल्लेख्य भीड लागेको छ ।मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित यस पवित्र तीर्थस्थलमा आमाको प्रतिमा दर्शन गर्न, श्राद्ध तर्पण तथा पिण्डदान गर्न श्रद्धालुहरू भेला भएका हुन् ।

दिवंगत आमाको सम्झनामा धेरै भक्तजन अघिल्लो दिन साँझदेखि नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए भने आज बिहानै मातातीर्थ कुण्डमा स्नान गरी तर्पण, पिण्डदान र सिदा दान गरेका छन् । धार्मिक विश्वासअनुसार यस दिन यहाँ स्नान तथा दर्शन गरेमा मृत आमाले मोक्ष प्राप्त गर्ने र सन्तानले पुण्य आर्जन गर्ने जनश्रुति रहिआएको छ ।

हिन्दू धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा पनि उच्च मानिएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने मान्यताअनुसार जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् मानिन्छ । पितृ ऋण तिर्नका लागि आमाबुबा जीवित हुँदा सम्मानपूर्वक सेवा गरी खुसी राख्ने र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने धार्मिक विश्वास रहेको छ ।

आजको दिन आमा जीवित हुनेहरूले घरमै मीठा–मीठा परिकार खुवाउने, उपहार दिने र सम्मान गर्ने गर्दछन् भने आमा दिवंगत भएका व्यक्तिहरू मातातीर्थमा पुगेर तर्पण, पिण्डदान र सिदादान गर्छन् । यसरी आमाको मुख हेर्ने पर्वका रूपमा मनाइने मातातीर्थ औँसीले आमाप्रतिको सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने परम्परालाई झल्काउँछ ।