
काठमाडौँ ।
काठमाडौँको ऐतिहासिकखुलामञ्चआजदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ। काठमाडौँ महानगरपालिकाले एक दशकभन्दा बढी समयदेखि बन्द रहेको यस खुला स्थललाई पुनर्निर्माण, सौन्दर्यीकरण र व्यवस्थापनपछि पुनः नागरिक उपयोगका लागि खुला गरेको हो। महानगरकी कार्यवाहक प्रमुखसुनिता डंगोलले गेट खोलेर खुलामञ्चको शुभारम्भ गरेकी हुन्। उद्घाटन अवसरमा आज खुलामञ्चमा ध्यान, योग तथा साउण्ड हिलिङजस्ता स्वास्थ्य–केन्द्रित गतिविधिहरू पनि आयोजना गरिएको थियो।

महानगरले विश्व ध्यान दिवसको अवसर पारेर खुलामञ्चलाई सर्वसाधारण, युवा तथा विद्यार्थीका लागि खुला गरेको जनाएको छ। अब यहाँ नागरिकहरूले स्वतन्त्र रूपमा आवतजावत गर्न, व्यायाम गर्न, टहलिन तथा विभिन्न स्वास्थ्य र सामाजिक गतिविधिमा सहभागी हुन सक्नेछन्।
यसअघि महानगरले करिब ९० लाख रुपैयाँ लागतमा खुलामञ्चमा दुबो रोप्ने, वरिपरि पैदल मार्ग निर्माण गर्ने तथा स्मार्ट बत्ती जडान गर्ने काम सम्पन्न गरेको थियो। लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहेको यस स्थललाई हरियाली चौरका रूपमा विकास गरी नागरिकमैत्री सार्वजनिक स्थल बनाइएको हो। खुलामञ्चको व्यवस्थापन काठमाडौँ महानगरपालिकाका वडा नम्बर २७ र २८ लाई जिम्मा दिइएको छ।
महानगरले खुलामञ्चलाई अब टहल्ने, आराम गर्ने, खेलकुद गर्ने तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्ने प्रमुख खुला सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।





Facebook Comments