
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्रीडा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थितसुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको अवस्थाबारे जानकारी लिएका छन् ।
निरीक्षणका क्रममा उनले ट्रायल पास गरेर राजस्व तिरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्याको अन्त्य गर्न सरकारले कदम चालेको बताए । अबदेखि ट्रायल पास गरी राजस्व बुझाएको २४ घण्टाभित्रै लाइसेन्स छापी सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको जानकारी दिए । ‘अब सम्भव काम रोकिने छैन, महिनौँसम्म लाइसेन्स कुर्नुपर्ने अवस्था अन्त्य हुन्छ,’ उनले भने ।
उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्तिका रूपमा प्रभावकारी र सक्षम संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । विगतमा इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काममा ढिलाइ भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने उनले बताए ।
केन्द्रमा ठूलो लगानीमा खरिद गरिएका उपकरण लामो समयसम्म प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउँदै उनले तिनको प्रभावकारी उपयोग गर्न निर्देशन दिए । करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण तथा मेसिनहरू हाल सञ्चालनमा ल्याइएको र छपाइ कार्य तीव्र बनाइएको उनले उल्लेख गरे ।
मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन र सेवाग्राहीमैत्री सेवा प्रवाह सुनिश्चित गर्न पनि निर्देशन दिए । सरकार जनताको हितमा केन्द्रित रहेको बताउँदै सेवा प्रवाहमा देखिएका गुनासो छिटो समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको उनले बताए । आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
केन्द्रका कार्यकारी निर्देशकदेवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । वैशाख १२ भित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने योजना अघि बढाइएको पनि उनले बताए । साथै, संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन विस्तृत व्यावसायिक योजना तयार गरी सरकारसमक्ष पेश गरिएको जानकारी दिए ।
निरीक्षणमा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा र बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । मन्त्री तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा अन्य संरचनाको अवस्थाबारे समेत अवलोकन गरेका थिए ।





Facebook Comments