काठमार्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिवार फाइनल खेलका लागि तयार थिए सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी र राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी गरेको सुदरपश्चिम रोयल्सबीचको फाइनलभिडन्त हेर्न टियु क्रिकेट मैदानमा सिट भरिने गरी हजारौँ दर्शक उपस्थित थिए । खेल सुरु भयो सुदुरपश्चिमले टस जितेपछि लुम्बिनीले बलिङ गरेर । खेल सुरु हुनुअघिसम्म रोचक प्रतिस्पर्धाको अपेक्षा गरेका दर्शकले सोचअनुसारको खेल हेर्न पाएनन् । अर्थात खेल एक पक्षीय भयो, लुम्बिनीले सुदुरलाई दबाबमा राख्यो । पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारी आफ्नो दोस्रो बल खेल्दा खाता नखोल्दै क्याच आउटभएपछि सुरु भएको सुदरको खराब प्रदर्शन अन्तिम ओभरसम्म कायम रह्यो । 

५ बल बाँकी छँदा केवल ८५ रनमा सुदुर अलआउट भयो । ८५ रन एनपीएल इतिहासमा पहिलो इनिङमा बनेको यो सबैभन्दा कम स्कोर हो । एनपीएलको फाइनलको पनि कम स्कोर हो । एनपीएलमा यो संयुक्त रुपमा चौथो कम स्कोर हो । पहिलो सिजनमा जनकपुर बोल्ट्स सुदूरपश्चिमविरुद्ध ५१ रनमा अलआउट भएको थियो । सुदुरका ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे । 

बलिलङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए । रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए । यसअघिका खेलमा पनि चम्किएका शेर मल्ल र रुबेन ट्रमपलम्यानले फाइनलमा पनि जादु देखाउँदै तीन तीन विकेट लिए । 

८६ रनको न्यून लक्ष्य पछ्याएको लुम्बिनीले ६ विकेटले खेल जित्यो । उसका लागि ओपनर दिनेश अधिकारीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा ४२ रनको योगदान गरे भने अर्का ओपनर डेर्सी सर्टले १४ रन जोडे । कप्तान रोहितले १६ रनको योगदान गरे । एनपिएलले दोस्रो संस्करणमा दुइ फरक फरक टिमलाई च्याम्पियन पाएको छ । पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो ।


प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।

यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । संयुक्त रूपमा सर्वाधिक विकेट टेकर ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।

फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।