काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा गायक–गायिकालाई दर्शक–श्रोताले सम्मान र गौरवका रूपमा लिने गर्छन्। उनीहरूको प्रस्तुति हेर्न र सुन्न दर्शकले मेला–महोत्सवमा टिकट काटेर सहभागिता जनाउने परम्परा छ। तर पछिल्लो समय केही कलाकारका व्यक्तिगत विवाद सार्वजनिक हुँदा त्यसले उनीहरूकै छविमा असर पार्ने गरेको देखिन्छ।
यस्तै अवस्थामा पछिल्लो ‘सिक्री’ विवादले चर्चित गायिकाद्वय कला लम्साल र एलिना चौहानबीचको मनमुटावलाई सार्वजनिक बनाएको छ। केही दिनअघि एलिना चौहानले सामाजिक सञ्जालमार्फत कला लम्सालको एक युट्युब अन्तर्वार्तालाई लिएर प्रतिक्रिया दिएकी थिइन्। सो भिडियोमा ‘सिक्री’ सम्बन्धी प्रसंगले आफूलाई चोरझैँ प्रस्तुत गरिएको भन्दै एलिनाले आपत्ति जनाएकी थिइन्।
उक्त विषयमा कला लम्सालले भने एलिनाले आफ्नै कुरा काट्ने गरी भिडियो सार्वजनिक गरेको आरोप लगाएकी थिइन्। त्यसको केही दिनपछि कलाले सामाजिक सञ्जालमै एलिनालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएकी छन्। उनले लेखेकी छन्,
“हुन त तीतो लाग्ला तर दिदीको नाताले भन्छु— मेरो किड्नी नै किन्न सक्ने पैसा कमाइछौ। भौतिक सुख त किनौली तर मनको शान्ति ??”
कलाले विवादलाई थप मलजल नगर्न आग्रह गर्दै आफूहरू दुवैले दर्शक–श्रोतामाझ अझ धेरै राम्रा गीत प्रस्तुत गर्न बाँकी रहेको उल्लेख गरेकी छन्। साथै, अन्तर्वार्तामा एलिनाको नाम नलिइकनै ‘सिक्री’को प्रसंग उठाइएको र गलत आशय नदिएको उनको प्रष्टीकरण छ। आफूले प्रयोग गर्ने सिक्रीसँग भावनात्मक सम्बन्ध रहेको र सोही सिक्री एलिनाले लगाएर अन्तर्वार्ता दिएको देख्दा आफू अचम्मित भएको पनि कलाले उल्लेख गरेकी छन्।
कलाको स्टाटस सार्वजनिक भएलगत्तै एलिनाले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, । “खुट्टा तान्ने धेरै छन्। अघि बढिरहन्छु झन्।”
उल्लेखनीय छ, कला लम्साल र एलिना चौहान हालै एकसाथ अमेरिकाको सांगीतिक टूरमा सहभागी भएका थिए। टूरकै बीचमा बिरामी भएपछि कला नेपाल फर्किएकी थिइन्। सो समयमा एलिनाले आयोजकको पक्ष लिएको आरोप कलाको छ। त्यही घटनादेखि दुवै गायिकाबीचको सम्बन्ध चिसिँदै आएको बताइन्छ।
सार्वजनिक कलाकारबीचको यस्तो विवादले सांगीतिक क्षेत्रमा नकारात्मक सन्देश जाने भन्दै दर्शक–श्रोताले संयमता अपनाउनुपर्ने सुझावसमेत दिन थालेका छन्।






Facebook Comments